कोरोना परीक्षणकाे दायरा सुस्त : सबै जनताको परीक्षण गर्नुपरे कति दिन लाग्ला ?

0

काठमाडौँ, २५ वैशाख । नेपालमा कोरोना संक्रमणका घटना पछिल्लो साता बढिरहेका छन् । तर पनि संक्रमित अझै धेरै हुनसक्ने र त्यसका लागि पर्याप्त परीक्षण नभएकाले पहिचान हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन् ।

एक त नेपाल काेराेना भाइरसले सक्रिय लक्षण खासै देखाइरहेकाे छैन भने अर्काेतिर सरकारले यसकाे परीक्षणकाे दायरा फरकाकिलाे बनाउन सकेकाे छैन । कन्ट्रयाक्ट ट्रेसिङ पनि बढाउन सकेकाे छैन । अर्काेतिर भारतीय खुला सिमानाका कारण अहिले पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने क्रम राेकिएकाे छैन । यसकाे असर तराइँका सीमावर्ती जिल्लाहरूमा देखिइसकेकाे छ- नेपालगन्ज र वीरगन्ज यसका उदाहरण हुन् ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भनेर सरकारले लकडाउन गरेको पनि झण्डै डेढ महिना भयो । गत चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन गरेको थियो । यस अवधिमा जम्मा १४ हजारको मात्र कोरोना भाइरस परीक्षण गर्न सकिएको छ । यो अत्यन्तै सुस्त गति रहेको भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले असन्तुष्टि प्रकट गरिरहेका छन् ।

नेपालमा बुधबारसम्म १४ हजार ९६ जनाकाे पीसीआर विधिमार्फत काेराेना भाइरस परीक्षण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १४ हजारकाे परीक्षण गर्दासम्म ९९ जनामा संक्रमण पुष्टि भएकाे छ । यीमध्ये ११ जना संक्रमितले अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रयोग गरेकाे खुलेकाे छ । संक्रमण पुष्टि भएकाहरूले यात्रा गरेका ८ अन्तर्राष्ट्रिय उडान र तीन आन्तरिक उडानसँग सम्बन्धित अन्य यात्रु १ हजार ४६० रहेकाे प्रहरी प्रधान कार्यालयकाे विवरणले देखाएकाे छ । यीमध्ये अझै २१७ यात्रु प्रहरीको सम्पर्कबाहिर रहेकाे बताइन्छ ।

यसैगरी भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेहरूकाे यकीन तथ्यांक समेत सरकारसँग छैन । जबकि नेपालमा रहेका १५ जना भारतीय नागरिकमा नै काेराेना संक्रमण देखिएकाे छ । हाल संक्रमितमध्ये संक्रमितमध्ये ११ नेपाली पनि भारतीय सीमानाक हुँदै नेपाल आएका थिए । उनीहरूकाे सम्पर्कमा अरू कति जना अाए, यसकाे यकीन तथ्यांक बुझ्न कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने हुन्छ । अनि ती सबैकाे तत्काल परीक्षण गर्नुपर्ने हुन सक्छ ।

नेता र सरकारकाे ध्यान कता ?

यतिवेला सरकार र राजनैतिक दलहरुको ध्यान कोरोना भाइरस नियन्त्रणका प्रभावकारी उपाय अपनाउँदै जनजीविकाका सवालमा केन्द्रित हुने भन्दा पनि अनेक चलखेलमा लागिरहेको आरोप लाग्दै आएको छ । पछिल्लो समय सत्तारुढ नेकपाभित्रै देखिएको आन्तरिक किचलो र सरकार फेर्ने खेलप्रति पनि आम जनताको वितृष्णा देखिन्छ ।

लकडाउनको यति लामो अवधिमा व्यापक कोरोना परीक्षण गर्दै, पहिचान, आइसोलेसन, उपचार गराएर विस्तारै क्षेत्र पहिचान गरी लकडाउन खुकुलो बनाउन सकिन्थ्यो । तर सत्ता र पार्टीभित्रैका चलखेलमा ध्यान जाँदा न त सरकार, न राजनैतिक दलका नेताहरु कोरोना र यसको असरप्रति गम्भीर देखिएका छन् । लकडाउन मात्र समस्याकाे समाधान हुने देखिदैन ।

सबैकाे परीक्षण गर्नुपरे कति दिन लाग्ला ?

सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउन नसकेको स्वयं स्वास्थ्य मन्त्रालयको तथ्यांकले नै देखाउँछ । लकडाउन भएको ४२ औँ दिनसम्म जम्मा १४ हजार जनाको मात्र कोरोना भाइरस परीक्षण भएको छ । यसै गतिले परीक्षण हुने हो भने करिब ३ करोड रहेको नेपाली जनता सबैको परीक्षण गर्नुपरेमा कति दिन लाग्ला त ? यसको अनुमान सजिलै गर्न सकिन्छ कि सयौँ वर्ष लाग्न सक्छ ।

यसबारे सामाजिक सञ्जालका प्रयाेगकर्ताहरूमा रमाइलाे बहस र टीका-टिप्पणी समेत सुरू भएकाे छ । गणितीय हिसाब निकाल्ने हाे भने यही गतिमा सबै जनताकाे काेराेना भाइरस परीक्षण हुन २४६ वर्ष लाग्ने देखिन्छ भन्दै रमाइलाे टिप्पणी गरिरहेका छन् ।

सरकारकाे अहिलेकाे काेराेना परीक्षणकाे गति अनुसार लकडाउनयता प्रतिदिन औसतमा ३३३ जनाकाे काेराेना भाइरस परीक्षण भएकाे देखिन्छ । करिब ३ कराेड जनसंख्याकाे परीक्षण गर्नु परेमा ९० हजार दिन अर्थात् झण्डै अढाइ सय वर्ष लाग्ने एक रमाइलाे हिसाब यतिखेर सामाजिक सञ्जालहरूमा शेयर भइरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.