कोरोनाबाट मुक्तिको कामना गर्दै लुम्बिनीमा सीमित व्यक्तिको सहभागितामा मनाइयो बुद्ध जयन्ती

0

कपिलवस्तु, २५ बैशाख । सीमित ब्यक्तिहरुको सहभागितामा कोराना भाइरसको महामारीबाट छिट्टै मुक्ति मिलोस भन्ने कामनासहित यस बर्षको २५६४ औं बुद्ध जयन्ती मनाइएको छ ।

सरकारी निर्देशन अनुसार लकडाउनको पूर्णपालना गरी सामाजिक दूरी कायम गरी लुम्बिनीमा प्रार्थना गरिएको थियो । भिक्षु भिक्षुणीले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन तथा पूजा गरेर विश्व शान्ति तथा कोभिड १९ उन्मुलनका लागि प्रार्थना गरेका थिए ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनास्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । भिक्षु मैत्रेयसहित १० जना भिक्षुको टोली र लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सम्मलित टोलीले मायादेबी मन्दिरमा बिहीवार बिहान पूजापाठ गरेका थिए ।

भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिएको थियो । मायादेबी मन्दिरमा भिक्षु र कोषका पदाधिकारीको टोलीले करिब एक घन्टा प्रार्थना र पाठ गरे ।

कोरोना भाइरसका कारण यस बर्षको पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको थियो । कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले कोरोना भाइरसको महामारीका कारण यस बर्ष कोषका पदाधिकारी र भिक्षुसहित करिब २५ जनाको टोलीद्वारा मायादेबी मन्दिरमा बिशेष प्रार्थना गरी मनाइएको जानकारी दिनुभयो ।

उहाँले कोरोना भाइरसले मानवजातिलाई नै संकटमा पारेकोले त्यसबाट छिट्टै मुक्ति मिलोस भन्ने कामना गरिएको बताउनुभयो । उता बुद्धजयन्तीका अवसरमा बिहीवार साँझ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने कार्यक्रम तय भएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको अगुवाईमा मायादेबी मन्दिरमा २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ । विहार, मोनाष्ट्री र गुम्बाका १० ÷ १५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिएको थियो ।

यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.