कोरोना भाइरसको डरले बेलायती महारानीले छोडिन् दरवार

0

लण्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले कोरोना भाइरस कोविड-१९ को डरले बर्मिङघम राजप्रासाद छोडेकी छन्। संक्रमणबाट जोगाउन उनलाई विन्डसर क्यासल लगिएको छ। बेलायतमा महामारीको रूप लिएको कोविड १९ को प्रकोपबाट बचाउन भनेर यो कदम चालिएको बताइएको छ। उनका पति फिलिपलाई पनि सेन्ड्रिङममा अलग्गै राख्ने तयारी भइरहेको छ।

शाही परिवार निकट व्यक्तिले उक्त सूचना दिएको खुलासा गरिएको छ। ‘महारानीको स्वास्थ्य ठीक छ। तैपनि उहाँलाई बर्मिङघम दरवारबाट अन्यत्र सार्नु उचित हो। उहाँका स्टाफ भाइरसबाट संक्रमण हुने आशंकामा त्रस्त छन्।’

बर्मिङघम दरवारमा विश्वका विभिन्न नेताहरूलाई महारानी एलिजावेथले स्वागत गरेकी थिइन्। त्यस्ता कैयौं नेताहरूसँग उनले कुराकानी गरेकी थिइन्। महारानीले ९४ औं जन्मदिन केही साताअघि मात्रै मनाएकी थिइन्। त्यसमा विभिन्न व्यक्तिसँग उनले भेट गरेकी थिइन्। महारानीका सल्लाहकारले कुनै नोक्सानी नहओस् भनेर अन्यत्र स्थानान्तरण गर्नुपरेको स्पष्ट पारेका छन्। बर्मिङघम दरवार लण्डनको मध्य भागमा रहेको र यहाँ काम गर्ने कर्मचारी अत्यधिक भएकाले भाइरसको संक्रमण बढी हुने आशंका गरिएको हो।

राजप्रासाद सूत्रले ‘द सन’लाई दिएको जानकारीअनुसार दरवारमा कसैलाई पनि कोविड संक्रमण भेटिएको छैन। यद्यपि वृद्ध उमेरकी महारानीलाई भीडभाडबाट अलग राख्नु बुद्धिमानी हुने बताइएको छ। बर्मिङघममा ५ सय कर्मचारी छन् भने विन्डसरमा १ सय र सेन्ड्रिङममा २० जति कर्मचारी छन्। मे र जुनमा हुने गार्डन पार्टीहरू स्थगित गरिएका छन्।

ती पार्टीमा ३० हजार अतिथि सहभागी हुने अनुमान थियो। महारानी ६ जुनमा हुने एप्सम डर्बीमा पनि सहभागी नहुने अनुमान गरिएको छ। सनले दरवारका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘भविष्यमा हुने समारोहमा तत्कालीन अवस्थाको समीक्षा गरिने र सल्लाह लिइनेछ।’ बेलायतमा १ हजार १४० व्यक्ति संक्रमित भएका छन् भने ३१ जनाको मृ’त्यु भएको छ।

Leave A Reply

Your email address will not be published.