लकडाउनले इच्छाकामना माता माईको मन्दिर निर्माणको काम प्रभावित

0

मुग्लिन, २६ वैशाख- चितवनको इच्छाकामना गाउँपालिका—५ स्थित ऐतिहासिक इच्छाकामना माता माईको मन्दिर निर्माणको काम रोकिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण मन्दिर निर्माणको काम प्रभावित भएको हो । बन्दाबन्दीका कारण काठमाडौँबाट कालिगढ आउन नसकेपछि मन्दिर निर्माणको काम रोकिएको इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण काठमाडौँबाट कालिगडहरु फर्कन सकेनन् त्यसैले मन्दिर निर्माणको काम अहिले रोकिएको छ, बन्दाबन्दी सकिएपछि मन्दिर निर्माणको कामलाई निरन्तरता दिनेछौँ ।”

अठार महिनामा निर्माण सम्पन्न हुनेगरी गत असारदेखि जगैबाट भत्काएर पुनःनिर्माण थालिएको उहाँले बताउनुभयो । यसअघि पनि काठ अभावले केही महिना काम रोकिएको र अहिले पनि बन्दाबन्दीले रोकिँदा तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न कठिनाइ हुने उहाँको भनाइ छ । उहाँका अनुसार अहिले ३३ प्रतिशतमात्र काम सम्पन्न भएको छ । मन्दिर निर्माणका लागि झण्डै रु तीन करोड लाग्ने अनुमान गरिएको छ । वाग्मती प्रदेश सरकारबाट रु ५० लाख र इच्छाकामना गाउँपालिकाबाट रु ७५ लाख बजेट उपलब्ध भई काम शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो ।

इच्छाकामना मन्दिर प्राङ्गणमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्ने गर्छ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्छन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ ।

इच्छाकामना मन्दिर सामुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको उहाँको भनाइ छ । इच्छाकामना माता माई गोरखाको मनकामना माईको दिदी बहिनीमध्ये एक मानिन्छ । (रासस)

Leave A Reply

Your email address will not be published.