‘हातले हिउँ पन्छाउँदै ८ घण्टासम्म पैदलै हिडेर आयौँ, तर परीक्षा रोकियो …’

0

पोखरा, म्याग्दीको ३२ सय मिटर उचाइको देउराली हिमाल काट्दै गर्दा ज्ञानदेवी विकको मनमा उत्साह थियो–यसपटक एसइई सकेपछि मेरो जीवनमा उच्च शिक्षाको नयाँ ढोका खुल्नेछ ।उज्ववल भविष्यको पथमा अगाडि बढेकी उनलाई देउराली डाँडामा लेक लागेन ।पढ्ने र भविष्यलाई सही मार्गमा हिँडाउने दृढलक्ष्य बोकेर हिँडेकी उनलाई लुलाङको जंगलमा २ फिटसम्म जमेको हिउँमा हातैले ट्रयाक खोल्दा उनका हात कठ्यांग्रिएनन् ।विकसँगै उनका २२ जना दौँतरी त्यही जंगल, त्यही हिउँमा बाटो बनाउँदै हिँडे ।

मंगलबार बिहानै हिँडेपछि साँझमा परीक्षा केन्द्र पुग्ने, बुधबार आराम गर्ने र बिहीबारदेखि परीक्षा दिने तयारीमा उनीहरु थिए ।‘टुप्पीमाथि रौँ छैन, गुर्जामाथि गाउँ छैन’ चल्तीको यो उखान प्रयोग हुने गुर्जा गाउँको जनकल्याण माध्यमिक विद्यालय । जहाँबाट यसवर्षको एसइई परीक्षामा २३ जनाले परीक्षा दिने तयारीमा थिए ।छन्त्याल र दलित विद्यार्थी, विकट गाउँ गुर्जा, धवलागिरी गाउँपालिका १ म्याग्दीमा पर्दछ ।बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षामा सामेल हुन यो विद्यालयका २३ जना विद्यार्थी शिक्षकसँग मंगलबार सबेरै परीक्षा केन्द्रतर्फ हिँडे ।

हिमाल मुनिको गाउँमा हिउँ नपर्ने कुरै भएन । दुई फिटसम्म हिउँ जमेको थियो ।३२ सय मिटर उचाईको पहाड कट्नुपर्ने, त्यसमाथि जंगलको बाटो अनि हिउँको कहर । तर, हिउँको कहरलाई विद्यार्थीको मनको रहरले जित्यो । एउटै गाउँपालिकाभित्रको फरक वडा भएता पनि विकट भूगोल, उस्तै मौसम । विद्यार्थीहरुलाई दुई दिन अघि हिँड्नुबाहेक धरै थिएन ।विद्यार्थीको नेतृत्व गर्दै विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीको टोली परीक्षाकेन्द्रतर्फ अगाडि बढ्यो । परीक्षा केन्द्रसम्मको बाटेम्याद हो एक दिन अर्थात, १२ घण्टासम्म ।

जानकार प्रअले विद्यार्थीहरुलाई भनेका थिए, “बाटोमा कुनै पसल, होटेल छैनन्, आफूलाई चाहिने खाजा, पानीको इन्तजाम गर्नू ।”त्यसबाहेक पुस्तक, लत्ताको जोहो गर्न पनि उनीहरुलाई सुवेदीको निर्देशन थियो ।प्रअको निर्देशनमा विद्यार्थीको टोलीले देउराली डाँडा छिचोल्यो । ८ घण्टासम्म पैदलै हिँड्यो । बाटोमा रोकियो, खाजा खायो र अगाडि बढ्यो निरन्तर । सेतो हिउँमा खुट्टाका डोब बसाल्दै उनीहरुले लुलाङको जंगल पार गरे ।तर, हिउँका कारण उनीहरुको पाइलाको दुरी भने छोटो थियो । विस्तारै ८ घण्टासम्म विद्यार्थीहरुले पैदल यात्रा नै गरे र आइपुगे गाडी लाग्ने ठाउँ ।

त्यहाँबाट गाडी चढेर वडा नं. ७ को हेम मावि सिवाङ नै उनीहरुको परिक्षा केन्द्र तोकिएको थियो ।तर, १२ घण्टे यात्रापछि गन्तव्यमा पुगेका विद्यार्थीहरुले परीक्षा दिन भने पाएनन् । कारण, “गुर्जा भन्दा माथि गाउँ त छैन तर कोरोना छ ।” चीनको वुहानबाट सुरू भएको कोरोनाको कारण परीक्षा स्थगित भएको थियो ।बुधबार थकाई मारेका र परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरुले बुधबार साँझै अचानक महामारीको रुप लिएको कोरोना भाइरसको कारण परीक्षा अनिश्चितकालका लागि रोकिएको खबर पाए ।विकट गाउँमा खर्चको जोहो गरेर परीक्षा दिन आउनेहरुको लागि यो भन्दा बढि पीडा के होला ?

प्रअ सुवेदी भन्छन्, “गरिब विद्यार्थी छन्, १० दिन बस्नुपर्दा कम्तीमा पनि एकजना विद्यार्थी बराबर १०–१२ हजार रुपैयाँ खर्च उठ्थ्यो, ऋण खोजेरै आएता पनि परीक्षा दिन पाएको भए हुने हो, तर ….. ।”उनीसँगै अहिले परिक्षा दिने विद्यार्थीहरु पनि तनावमा छन् ।अन्तिम समयमा आएर परिक्षा रोकिनुमा आक्रोश पनि छ ।“हामीले धेरै दुःख कष्ट गरेर आएको हो, आज परीक्षा रोकियोभन्दा साह्रै नमज्जा लागेको छ हजुर । अब यो परीक्षा चाहिँ स्थगित गरेता पनि हिजो अस्ति नै गर्नुपर्ने हो सरकारले यो के ग¥या हो ?” सुवेदी को आक्रोश छ ।गरिब विद्यार्थीहरुले होटेलमा पैसा तिरेर बस्दा र परीक्षा स्थगित हुँदा उनीहरुमाथि मानसिक असर परेको उनको भनाई छ ।

“बच्चाहरुले पनि दुःख पायो, खर्च खर्च पनि त्यत्तिकै भयो, गरिब बच्चाहरुलाई बिचरा । हामी होटेलमा बस्ने हो, अब खै के गर्ने के ?” उनले भने ।अब भोलि नै फर्किने कि के गर्ने भन्ने अन्योलमा छन्, उनी ।म्याग्दीको हिमाली गाउँबाट पैदल यात्रा गरेर परीक्षा दिन आएका विद्यार्थीहरुको यो समस्या एउटा प्रतिनिधिमूलक समस्या मात्रै हो ।हिमाली जिल्लाको विकट भूगोलका कारण अहिले पनि भाडामा बसेर परीक्षा दिनेको संख्या धेरै नै छ । सरकारले भने अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.