न कुनै कार्यक्रम, न त ठूलो प्रकोप, हेलिकप्टर लिएर निस्किए यी मुख्यमन्त्री

0

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको टोली आइतबार बिहान हेलिकप्टर चढ्यो। उनीहरू वीरेन्द्रनगरबाट जुम्ला सदरमुकाम खलंगा जाँदै थिए। जुम्लामा मुख्यमन्त्री नै जानुपर्ने न कुनै कार्यक्रम थियो न त ठूलो महामारी वा प्रकोप नै।

मुख्यमन्त्री अनुगमन गर्ने भन्दै जुम्ला उडे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरेको तयारीबारे अनुगमन गर्न उनीहरू सुर्खेतबाट हेलिकप्टरमा गएका हुन्।

सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी) हेलिकप्टरमा जुम्ला पुगेका थिए।

हेलिकप्टरमा गएर मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्‍यो। दिउँसो मुख्यमन्त्री शाहीले जुम्लाका विभिन्न पालिकाका जनप्रतिनिधि र स्थानीय अधिकारीहरूलाई कोरोनासँग जुध्नका लागि सबै तयारी गर्न निर्देशन दिए।

मुख्यमन्त्री शाहीसहित टोली जुम्लामै हुँदा सामाजिक विकास मन्त्री रावल र केही चिकित्सकहरू हुम्ला पुगे। केहीबेर स्वाब संकलन गरेर उनीहरू जुम्ला फर्किए। उनीहरूको आइतबार नै सुर्खेत फर्किने कार्यक्रम थियो।

‘मौसममा खराब भएकाले उहाँहरूको हेलि जान सकेन। आज यतै बस्नुहुन्छ होला,’ जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले भनिन्। लकडाउनका बेला मानिसहरू सयौं किलोमिटर हिँडेर यात्रा गरिरहेका बेला अनुगमनको बहानामा मुख्यमन्त्री र कर्मचारी घुम्न गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहले यस्तो बेलामा अनुगमन नै अनावश्यक नभएको बताए। यस्तो बेलामा अनुगमनको के आवश्यकता थियो र,’ उनले भने, ‘अनुगमनै गर्नु परे पनि इन्टरनेटका माध्यमबाट गर्न सकिन्छ। हेलिकप्टर नै प्रयोग गर्नु अनावश्यक खर्च बढाउनु हो।’

Leave A Reply

Your email address will not be published.