कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

0

कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रक्षा गर्नुका साथै अ’पराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

त्यस्तै सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए। अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।’

सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए। छाङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बीओपी छाङरुका एक स्थानीयको घरमा भाडामा बस्ने उनले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.