नेपालीमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि सरकारले लकडाउन निकै कडा पार्दै ल्याउँदै छ यस्तो नियम !

0

काठमाण्डौ – नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार पर्सा, कपिलवस्तु र रुपन्देही र बाराका गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना छन् । संक्रमित सबै जना पुरुष भएका सह–प्रवक्ता अधिकारीले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्। यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्।

सरकारले आइतबारदेखि उपत्यकामा लकडाउन खुकुलो गरेसँगै चहलपहल बढेको छ। लामो समय घरभित्रै बसेका सहरवासी बाहिर निस्कन थालेका छन्। सुनसान बनेका सडक, पसल र भित्री गल्लीमा मानिसको भीडभाड बढेको छ।

दुई दिनयता सहरको दृश्य र चहलपहल हेर्दा उपत्यकामा लकडाउन नभएको महसुस हुन्छ। तर सरकारले यस्तो चहलपहल हुनेगरी लकडाउन खुकुलो गरेको भने होइन। अत्यावश्यक सरकारी कार्यालय र उद्योग, खाद्यान्न पसल, कृषि सामग्री ढुवानीलगायत पक्षलाई ध्यानमा राखेर ससर्त निर्णयसहित उपत्यकालाई आइतबारदेखि खुकुलो पार्ने रणनीति अपनाइएको थियो। यसको अर्थ कसैलाई पनि बिनाकाम बाहिर निस्कन दिइएको भने होइन। तर उपत्यकामा दुई दिनयता बाहिर निस्कने क्रम बढेको छ।

लकडाउनमा कडाइ नगर्दा उपत्यकामा जथाभावी बाहिर निस्कने क्रम भने बढेको छ। लकडाउन गरेको लामो समय भएपछि जनजीवन र आर्थिक क्रियाकलापलाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो पारे पनि त्यसले झन् जोखिन निन्तिन सक्ने देखिने सरकारी अधिकारीहरू नै बताउँछन्।

यसै क्रममा प्रधानमन्त्री केपी ओली काठमाडौं उपत्यकालगायत विभिन्न सहरमा लकडाउन खुकुलो भएको भन्दै आक्रोशित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंमा मानिस र गाडी सडकमा निस्केको देख्दा देश लकडाउनमा छ भन्ने विश्वास गर्न नसकिने भन्दै मन्त्रीहरूसँग असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री ओलीले लकडाउनलाई कडा पार्न निर्देशन दिएका छन्।

सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो । यसरी लकडाउन खुकुलो बनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। मंगलबार मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रिपरिषद्को बैठकमा लकडाउनबारे छलफल गर्ने कुनै एजेन्डा नभए पनि प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारिएको विषय उठान गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्। एक मन्त्रीका अनुसार बैठकमा ओलीले ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली असन्तुष्ट भएसँगै लकडाउन कडा हुने सम्भावना छ । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउनको समय थप गरेको छ । पछिल्लो समय भारतबाट ह्वारह्वार्ती आएका नेपालीमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको पुष्टि भएको छ ।

आइतबार देखि सरकारी कार्यालय तथा अन्य क्षेत्रहरु खुलिरहेका छन्। सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

Leave A Reply

Your email address will not be published.