पर्सामा भेटिएका १३ जना संक्रमितसँगै रौतहट आएका थिए १८ जना, क्वारेन्टाइनमा राख्ने तयारी

0

रौतहट, १ जेठ । बागलुङबाट पर्साका जिल्ला गएका १३ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६५ जना मजदुरमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु सबै बागलुङको गलकोट नगरपालिकाबाट पर्सा गएका मजदुरहरु हुन् । बागलुङबाट दुइ बसमा ९० जना आएका मजदुरहरुमध्ये १८ जना रौतहटका रहेको खुल्न आएको छ ।

बागलुङको गलकोटमा मजदुरी गर्दै आएका उनीहरुलाई गत बैशाख ११ गते गलकोट नगरपालिकाले दुईवटा बसको व्यवस्था गरी घर फर्काएको थियो । घर आउने क्रममा उनीहरुलाई कास्कीको पोखरामा प्रहरीले रोकेपछि तिनीहरु अलपत्र परेका थिए । पछि उनीहरुलाई छाडिएको थियो ।

पर्सामा संक्रमित भेटिएलगत्तै स्थानीय प्रशासनले उनीहरुको कन्ट्याक ट्रेसिङ्ग गरेर क्वारेनटाइनमा राख्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीमा राजपुर नगरपालिकाका ७, राजदेवी नगरपालिकाका ४, परोहा नगरपालिकाका ३, गढीमाइ नगरपालिकाका २ र माधवनारायण तथा चन्द्रपुरका एक–एक जना रहेका छन् ।

‘हामीले सबैको कन्ट्याक ट्रेसिङ्ग गरिसक्यौँ,’ प्रजिअ घिमिरेले भन्नुभयो, ‘उनीहरुलाई आजै क्वारेटाइनमा राखेर स्वाब परिक्षणका लागि पठाउँछौँ ।’

उहाँका अनुसार रौतहटका मजदुरहरु सोही लटमा आए पनि बस भने फरक रहेको थियो । पर्सामा आएकाहरुलाई क्वारेनटाइनमा राखिए पनि रौतहट आएका मजदुरहरुलाई क्वारेटाइनमा राखिएकाे थिएन । यसले गर्दा उनीहरुमा पनि संक्रमण भएकाे भए जिल्लामा कोरोना संक्रमण बढ्ने भन्दै स्थानीय आशंकित भएका छन् ।

यसअघि चैत्र तेस्रो साता बेल्जियमबाट फर्किएका बाग्लुङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनीहरूबाटै पर्साका मजदूर संक्रमित भएकाे हुनसक्ने बताइएकाे छ ।

Leave A Reply

Your email address will not be published.