कतारमा ह्वात्तै बढ्यो कोरोना संक्रमित सङ्ख्या
काठमाडौँ। खाडी मुलुक कतारमा कोरोना भाइरस संक्रमणमा वृद्धि देखिएको छ। बिहीबार मात्रै कतारमा १ हजार ७ सय ३३ नयाँ संक्रमण पुष्टि भएको छ।
यो संख्या कतारमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो। कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७ सय ३३ जना नयाँ संक्रमित फेला परेका हुन्।
बिहीबार कतारमा थप २ सय ७३ जना कोराेना संक्रमित बिरामीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ३ हजार ३ सय ५६ पुगेको छ ।
हालसम्म कतारमा २८ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने न्युन छ । अहिलेसम्म १४ जना संक्रमितको मात्रै ज्यान गएको छ ।
कतारले उच्च सतर्कता र चेकजाँचको दायरालाई व्यापक रुपमा बढाएकोले संक्रमितको संख्या बढेको बताएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले केहीदिन पछाडी संक्रमितको संख्या क्रमश घट्दै जाने समेत जनाएको छ ।
दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।
दूतावासले यकिन तथ्याङक आफूसँग नभएता पनि नेपालीहरु संक्रमित भने भएको बताउँदै आएको छ ।