नाचेरै कोरोना जितेका युवक भन्छन्: ८० रुपैयाँ तिरेपछि नेपाल छिर्ने सजिलो बाटो थाहा पाएँ

0

रुपन्देही। रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवामा जिल्लामै पहिलो पटक कोरोना भाइरस संक्रमण देखियो । उनी भारतबाट लुकीछिपी नेपाल आएका थिए ।

उपचारका लागि बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसन भर्ना भएका उनले एक्लै भएपछि नाचेर दिन कटाए । उनी नाचेको भिडियो समेत ‘भाइरल’ बन्यो ।

आफूले नाचेरै कोरोना जितेको उनी बताउँछन् । लकडाउनका बेला उनी कसरी दिल्लीबाट नेपाल आएका थिए ? उनको दिल्ली–नेपाल यात्रा उनकै शब्दमा –

भारतको नयाँदिल्लीस्थित एक कपडा कम्पनीमा विगत १० वर्षदेखि अर्थात् सन् २००९ देखि सिलाइकटाईको काम गर्थें । पछिल्लो पटक गत वर्ष दीपावलीको बेला १५ दिन घर बसेर म दिल्ली गएको थिएँ ।

विश्वभर कोरोनाको संक्रमण बढ्दै गएपछि भारतमा पनि अब बन्द हुन्छ भन्ने हल्ला चलेको थियो । नभन्दै २४ मार्च (नेपाली चैत ११ गते) देखि भारतमा लकडाउन भयो । लकडाउन भएसँगै सिलाईका लागि आवश्यक कपडा र धागोको अभावले कम्पनी बन्द भयो ।

कम्पनी बन्द भएपछि घरतिर लागें

केही समयपछि बन्द खुल्छ कि भन्ने आशा थियो । ३ हप्तापछि भारत सरकारले लकडाउन थप्यो । दिल्लीमा पनि संक्रमित बढ्दै गए । अनि मैले सोच बनाएँ – अब यहाँ बसेर हुँदैन घर जानुपर्छ । अनि मसँगै काम गर्ने काकासँग ५०० रुपैयाँ मागेर १४ अप्रिल (वैशाख २ गते) बिहान ११ बजे कम्पनीबाट नेपाल (घर) को यात्रा तय गरें । दिल्लीबाट ३२ किलोमिटर गाजियावादसम्म रेल हिँड्ने बाटो पैदल हिँडें । त्यहाँबाट लखनउ आउने ‘हाइवे’ हुँदै ८ किलोमिटर हिँडें ।

बेस्सरी भोक लाग्दा प्रहरीले खाजा दिलाए

बाटोमा हिँड्दै गर्दा एउटा प्याज बोकेको ट्रक आयो । ट्रक चालकलाई सय रुपैयाँ दिएर मुरादावादसम्म आए । त्यहाँ झरेपछि फेरि ८ किलोमिटर जति पैदल हिँडें । त्यहाँ आउँदा अर्को मालबाहक ट्रक पछाडिबाट आयो । त्यो ट्रकमा चढेर बरेलीसम्म आएँ ।

बरेलीमा झर्दा साह्रै भोक लाग्यो । त्यहाँको एउटा होटलमा गएँ । भित्र खाजा–नास्ता पाकेको रहेछ । होटलका साहुलाई खाजा दिनु भन्दा छैन भन्यो । नजिकै २ जना पुलिस थिए । पुलिसलाई ‘भित्र खाजा छ दिन्न भन्छ’ भनेर गुनासो पोखे । अनि पुलिसले ‘उसलाई खाजा दे’ भनेपछि होटलवालाले दियो । त्यहाँ ४ वटा रोटी र दाल खाएर पेट भराएँ ।

खाजा दिलाइदिने पुलिसलाई आग्रह गरें – म लखनउसम्म जानु छ गाडीमा पठाइदिनुपर्‍यो । पुलिसले एउटा ट्रकमा बसालेर पठाइदियो । लखनउभन्दा ५० किलोमिटर वरैबाट ट्रक अन्यत्र मोडिने भएपछि मलाई त्यहीँ झारिदियो । त्यहाँ उत्रेर बाटैबाटो हिँड्दै थिएँ, अर्को औषधि बोकेको ट्रक बिहार हिँडेको रहेछ । रोकें ।

चालकलाई मलाई गोखरपुरसम्म पुर्‍याइदिनुपर्‍यो भने । उनले सहर्ष स्वीकार गरी आफ्नै आडमा राखेर १०० रुपैयाँ भाडा लिएर राति १ बजे मलाई गोरखपुरसम्म ल्याइदियो । त्यहाँबाट १ किलोमिटर हिँडें । खाली ट्रक आउँदै रहेछ, मलाई नौतुनासम्म पुर्‍याइदिन हात जोडें । त्यो गाडीले फरिन्दासम्म ल्याइदियो ।

त्यहाँ रहेका पुलिसले सोध्यो – कहाँ जान लागेको ? मैले भने कोल्हुई बजार । त्यही हो मेरो घर भनेर पुलिसलाई झूट बोले । अनि मेरो नाम, ठेगाना, मोबाइल नम्बर, दाई, बुवाको नाम सबै गलत जानकारी गराएँ । त्यहाँ नेपाल जान हिँडेको भनेको भए पुलिसले मलाई पक्राउ गर्थ्यो । त्यहाँबाट इन्धन बोकेको ट्यांकरमा राखेर पुलिसले मलाई नौनुनासम्म पठाइदियो । नौतुना र कोल्हुई बजार नजिक–नजिक पर्छ । ट्यांकरले कोल्हुई बजार उतारिदियो ।

८० रुपैयाँ तिरेर नेपाल छिर्ने बाटो थाहा पाएँ

कोल्हुई झर्दा पुलिसले आएर कहाँ जाने भनेर सोध्यो । त्यहाँ पुलिसलाई नेपाल जाने बताएँ । ‘बोर्डरहरू सबै बन्द छ, कसरी जान्छन् ?’ पुलिसले उल्टै प्रश्न गर्‍यो । त्यसपछि पुलिसले गैहाल भन्यो । मनमनै गम्दै ठोटरीबाट नदी पार गरेर नेपाल प्रवेश गर्छु भन्ने सोच बनाएर अगाडि बढें । कोल्हुई नजिकै चन्दनपुर गाउँ छ । त्यहाँ १ जना जमिनदार चौधरी रहेछन् । त्यहाँ उनीसँग भेट भो । कहाँबाट आइस् भनेर उनले सोधे । म दिल्लीबाट आएको भने । उनले भोक लागेको छ भनेर सोधे । खाना खान नपाएपनि मैले भोक लागेको छैन भने ।

बरु मलाई पानी दिनुहोस् खान्छु भनें । मलाई गर्मी लागेजस्तो देखेर उनले डेढ लिटर चिनीपानी दिए । उनले ‘तँ बोर्डन हुँदै नजा, बढुवा गाउँ हुँदै जा, पुगिहाल्छस्’ भनेर उपाय बताए । अगाडि बाटोमा १ जना मदिरा सेवन गरेको व्यक्ति रहेछ । मैले नेपाल छिर्ने सजिलो बाटो सोधें । उनले पैसा दे म बताइदिन्छु भन्यो । मसँग १०० रुपैयाँ बाँकी थियो पैसा । ८० रुपैयाँ दिएपछि उसले मलाई बाटो बताइदियो ।

सीमामा पुलिस देखेपछि झाडीमा लुकें

भारतको बोडवागाउँबाट वैशाख ५ गते दिउँसो ४ बजे नेपाल प्रवेश गरें । सीमामा रहेको झाडीबाट नेपाल प्रवेश गर्न खोज्दा मैले त्यहाँ नेपाली पुलिस रहेको देखें । एकछिन त्यहीँ झाडीमा लुकें । पुलिस पर पुकेपछि सजिलै नेपाल छिरिहालें । नेपाल छिरेपछि टोटरिहवा फुपुमा एकछिन बसें । त्यहीँबाट दाइलाई फोन गरें, मलाई लिन आउनुपर्‍यो भनेर । दाइ साइकल लिएर लिन आए ।

दाइले मलाई सिधै मझगवा माविको क्वारेन्टाइनमा लगे । मलाई छोडेर दाइ घर गए । ३ दिनपछि क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि टोली आयो । मेरो पनि स्वाब लिएर गयो । ३ दिनपछि रिपोर्ट आउँदा मलाई कोरोना पोजेटिभ भनेर आयो । रिपोर्ट पोजेटिभ आउँदा पनि मलाई कुनै डर लागेन । किनकि मलाई कुनै लक्षण नै देखिएन ।

दिल्लीबाट घरसम्म आउँदा म धेरै व्यक्तिको सम्पर्कमा आएँ । ठाउँ–ठाउँमा ट्रकहरू परिवर्तन गरें । खाजा, नास्ता, पानी खाएँ । कतिबेला कोरोना भाइरसले संक्रमण गर्‍यो ? थाहा नै पाइएन । दिल्लीबाट घरसम्म आउँदा बाटोमै कतै कोरोना सरेको हुनुपर्छ ।

वैशाख १९ गतेदेखि ३० गतेसम्म अस्पताल बसेका उनको २ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । उनी अहिले घरमै होम क्वारेन्टाइनमा बसेका छन् । उनले भने, ‘डा. सुदर्शन थापाको राम्रो सल्लाह र सुझाव पाएर निको भएँ । उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु । उहाँले मलाई अब नेपालमै जागिर मिलाइदिन्छु पनि भन्नुभएको छ ।’ अस्पताल बस्दा सबैले राम्रो व्यवहार गरेको उनले बताए । उनलाई १ हप्ता पछि अस्पताल बोलाइएको छ ।

अहिले बुटवलको कोरोना अस्पताल बिरामीले भरिएको छ । अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जना कोरोना संक्रमित बिरामीलाई आइसोलेनसमा राखेर उपचार भइरहेको छ । लोकान्तरबाट

Leave A Reply

Your email address will not be published.