एउटै वडाका ५१ जनामा कोरोना संक्रमण

0

नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अपरान्ह पत्रकार सम्मेलनमार्फत नरैनापुरका ४६ जना पुरुष र एक महिलासहित ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँका अनुसार गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ७ जना महिलामध्ये २५ वर्षकी एक जनालाई कोरोना संक्रमण भएको हो। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ८ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा दुई सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएकामध्ये एक सय ९२ जनाको भेरी अस्पताल नेपालगन्जमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका २५ वर्षमा युवाको आइतबार मृत्यु भएको थियो। शनिबार संकलन गरिएका ७० र आइतबार संकलन गरिएका ११ जना गरी ८१ जनाको रिपोर्ट आउन बाँकी नै रहेको छ। बाँके हालसम्म ८१ जना संक्रमित भएका छन्।

नरैनापुर गाउँपालिकामा कूल संक्रमतिको संख्या अहिले ५६ पुगेको छ। संक्रमितमध्ये वडा नं. ५ का मात्रै ५१ जना रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ। वडा नं २ र ६ मा दुई दुई जना र वडा नं. १ का एक जना मात्रै छन्। नरैनापुरमा संक्रमित भएकामध्ये १८, २६ र ३० वर्षका ६/६ जना, २८ र ३२ वर्षका ५/५ जना, २० र २२ वर्षका ४/४ जना, २१ र २५ वर्षका ३/३ जना, १९ र २६ वर्षका २/२ जना छन्। कम्तीमा १८ वर्षदेखि अधिकतम् ४० वर्षसम्मका व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। अधिकांशको उमेर १८ वर्षदेखि ३२ वर्षसम्मको छ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खाँका अनुसार नरैनापुरका १३ वटा क्वारेन्टाइनमा सोमबारसम्म ८ सय ८ जनालाई राखिएको खाँले बताए। तीमध्ये धेरै जनाको कोरोना परीक्षण गर्न बाँकी नै छ। हरेक दिन भारतबाट आउने क्रम बढिरहेको उनले बताए। अन्नपुर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.