गुल्मीका कोरोना संक्रमितको निधन भन्दै समाचार आएपछि अस्पतालले निकाल्यो यस्तो बिज्ञप्ति !

0

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभिन्न समाचारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो तर केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको निधन भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ । ”

एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आउनुभएका उहाँलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो । थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास देखिएको छ । मदाने गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएको हो । उहाँ ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट ए्म्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल जानुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।

स्वास्थ्यकर्मीको सल्लाहमा तत्कालै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही जानुभएको हो । ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २ गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमणको पुष्टि गरेपछि यतिबेला जिल्ला थप त्रसित बनेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिनुभयो । परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।

पोलिक्लिनिक बन्द

अर्घाखाँची– गुल्मी मदानेका कोरोना संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि शुरुमा पोलिक्लिनिकमा जाँच गराउँदा सम्भव नभएपछि उहाँ रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो । छाया पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.