कतारमा आजदेखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने

0

काठमाण्डौ – कतारमा आजदेखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् ।

त्यहाँको स्थानीय पत्रिका द पेनिन्सुला कतारका अनुसार सोमबार बसेको कतारको मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल, औषधि पसल र होम डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सबै व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदले प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज ( EHTERAZ ) एप इन्स्टल गर्न पनि निर्देशन दिएको छ । कुनै कारणबस घरबाट बाहिर निस्किंदा यस एपले सहयोग गर्ने र यो निर्देशन मे २२ देखि अर्को सूचना जारी नआएसम्म लागू हुने जनाइएको छ ।

यस्तै मन्त्रीपरिषदको निर्णयअनुसार अब एउटा गाडीमा सवारी चालकसहित दुईजना भन्दा बढी बस्न नपाउने भएका छन् । तर ट्याक्सी वा लिमोजिनमा यात्रा गर्दा वा परिवारका सदस्यले गाडी चलाइ निजी गाडीमा यात्रा गर्दा भने बढीमा तीनजनासम्म यात्रा गर्न मिल्नेछ ।

यी निर्णको पालना नगरेमा तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने जनाइएको छ ।

कतार स्थित नेपालीदुतावासको आग्रह :

कोरोना सङ्क्रमण नियन्त्रणका लागि कतारको मन्त्रीपरिषद्ले १८ मे २०२० मा जारी गरेको निर्देशन सम्बन्धमा।

१८ मे २०२० मा कतारको मन्त्रिपरिषद्को बैठकले कतारमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि हालसम्म चालिएका प्रयासहरुलाई निरन्तरता दिदै निम्नबमोजिमका थप निर्णयहरु सार्वजनिक गरेको छ:

१. जुनसुकै कारणले घर बाहिर निस्कदा कतारका नागरिक र बासिन्दाहरुले आफ्नो स्मार्टफोनमा एहतराज(Ehteraz) एप प्रयोगमा ल्यानुपर्ने। यो निर्णय २२ मे २०२० देखि लागू हुने।

२. एउटा सवारी साधनमा सवारी चालक सहित २ जना भन्दा बढीले यात्रा गर्न नपाउने तर ट्याक्सी तथा लिमोजिनमा यात्रा गर्दा वा परिवारको सदस्यले गाडी चलाइ निजी सवारी साधनमा यात्रा गर्दा भने अधिकतम तीनजना सम्म यात्रा गर्न सकिने।यो निर्णय १९ मे २०२० देखि लागु हुने।

३. १९ देखि ३० मे २०२० सम्म खाना र केटरिङ पसल, औषधी पसल, डेलिभरी सेवा दिने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु र सबै व्यवसायिक क्रियाकलापहरु बन्द गर्ने।

माथि उल्लिखित निर्देशनको पालना नगरेको खण्डमा सन् १९९० को सरुवा रोग नियन्त्रण कानून नं १७ बमोजिम तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुई मध्ये एक सजाय हुने निर्णयमा उल्लेख छ।

तसर्थ, यस निर्देशनप्रति सचेत रही निर्देशनको पालना गर्नु/गराउनु हुन कतारमा बसोबास गर्ने सबै नेपालीहरुलाई नेपाली राजदूतावास अनुरोध गर्दछ । नेपाली राजदूतावास दोहा, कतार ।

Leave A Reply

Your email address will not be published.