नयाँ नक्शाको समर्थन गरेपछि मनिषा कोइरालामाथि खनिए भारतीय

0

काठमाडौं। सरकारले अनुमोदन गरेको नयाँ नक्शालाई समर्थन जनाउदा बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि उनका भारतीय प्रशंसक तथा संचार मध्यम यति बेला खनिएका छन्।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा नेपाल सरकारले केहि दिन अघि अनुमोदन गरेको थियो । सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।

समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ।

अभिनेत्री कोइरालामाथि ट्वविटरमा पनि उनका भारतीय प्रशंसकहरु जाइलागेका छन् । मनिषाको उक्त ट्वीट प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन्।

ट्वीटरका केही प्रयोगकर्ताले नेपाललाई चीनसँग सतर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला।’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्नेछौं।

Leave A Reply

Your email address will not be published.