भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु

0

काठमाडौँ, ११ जेठ । संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा शुक्रबार राति मृत्यु भएको छ । थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार साँझ साढे ५ बजे ल्याइपुर्‍याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको भेन्टिलेटर खोज्दाखोज्दै मृत्यु भएको हो ।

‘हाम्रो अस्पतालमा न्युरोसम्बन्धी उपचार हुँदैन, सुत्केरीलाई भेन्टिलेटरसहितको उपचार आवश्यक थियो,’ अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले भने, ‘हामीले न्युरोको उपचार हुने र भेन्टिलेटर भएको पाटन, वीर र टिचिङ सबै सरकारी अस्पतालमा फोन गरेर बिरामी भर्ना लिन आग्रह गर्‍यौं तर कतै पनि लिएनन् ।’ उनका अनुसार अस्पताल ल्याउँदासम्म गंगाको उपचारमा निकै ढिला भइसकेको थियो । जटिलताका कारण उनको टाउकोमा असर परिसकेकाले भेन्टिलेटर आवश्यक थियो । उनका अनुसार कार्कीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो पनि थियो ।

एक साताअघि सुत्केरी बेथा लागेपछि कार्कीलाई संखुवासभाको खाँदबारी अस्पताल पुर्‍याइएको थियो । परिवार स्रोतका अनुसार उनको गर्भ आठ महिना मात्रै पुगेको थियो । उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको पत्ता लागेपछि अस्पतालले उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज रिफर गरेको थियो । नोबेलमा उनले मृत शिशु जन्माएको सासू जानुका कार्कीले बताइन् । ‘प्रेसर बढेको भनेर बुहारीको अपरेसन पनि भएन,’ उनले भनिन् । अपरेसन नभएपछि अस्पतालले भ्याकुमको सहायताले मृत बच्चा निकालेको थियो । उपचारमा मात्रै चार लाख खर्च भएपछि अस्पतालले थप उपचार सम्भव नभएको भन्दै घर पठायो । याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.