कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौति : संयुक्त राष्ट्रसंघ

0

एजेन्सी, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् । महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी पनि उनले दिएका छन् । उनले भने- ‘कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको छ । यसले जीवन र जीविका माथि नै प्रहार गरेको छ ।’

संयुक्त राष्ट्रसंघको गठनदेखि सबैभन्दा ठूलाे चुनैति अहिले नै भाेग्नु परेकाे र अहिले विश्वलाई एकता चाहिएको पनि उनले बताए । ‘अब विश्वलाई चाहिएको कुरा एकता हो,’ उनले भने, ‘काेभिड-१९ संयुक्त राष्ट्रसंघको गठनदेखि अहिलेसम्म सामना गर्नु परेको सबैभन्दा ठूलो चुनैति हो ।’

दोस्रो विश्वयुद्ध ‍१९३९ देखि ‍१९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो भने संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियाे । महासचिव गुट्रेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् । महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ भने ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले २ सयभन्दा बढि मुलुकमा फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.