दुई सय रुपियाँ क्रेटमा पनि बिकेन गोलभेँडा, माइकल भन्दै काँक्रो किन्दैनन् व्यापारी

0

काठमाडाैँ । सिन्धुलीको घ्याङलेक गाउँपालिकाकी रोशनी श्रेष्ठ, भेटेरीनरी तथा कृषि प्राविधिक हुनुहुन्छ । एसइइ परीक्षापछि १५ महिनाको पाठ्यक्रम पूरा गरी यतिबेला उहाँ गाउँमै प्राविधिक सेवा गर्दै घ्याङलेक गाउँपालिकाको रामपुरमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अघिल्लो वर्ष गोलभेँडाको निकै राम्रो मूल्य पाएपछि यो वर्ष १० रोपनी जग्गामा उहाँले गोलभेँडा खेती गर्नुभएको हो ।उहाँको यतिबेला गोलभेडा उत्पादन भइरहेको छ । एक क्रेट गोलभेँडाको दुई सय रुपियाँसमेत दिन व्यापारी तयार नभएपछि रोशनी यतिबेला निकै चिन्तामा हुनुहुन्छ ।

‘सके बेचेर ल्याउँछाैँ, हैन भने फालेर आउँला भन्दै व्यापारीले तरकारी लिएर जाने गरेका छन् ।’ रोशनीले भन्नुभयो । यसो भन्दा एक क्रेट गोलभेँडाको मुस्किलले दुई सय रुपियाँ पाउने रोशनीको भनाइ छ । उहाँले स्थानीय सरकारसँगै प्रदेश सरकार तथा केन्द्रीय सरकारले कृषकको समस्याको बारेमा ध्यान दिन नसकेको गुनासो पोख्नुभयो ।झण्डै एक दशक वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा श्रम गरेर फर्कनुभएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाका श्याम तिमल्सिनाले प्रेरणा कृषी तथा पशुपक्षी फार्म स्थापना गरेर कृषी कर्ममा होमिनुभएको छ ।

यो वर्ष २० रोपनीभन्दा धेरै जग्गामा काँक्रो खेती गरेका तिमल्सिनाको एक केजी काँक्राको मूल्य पाँच रुपियाँभन्दा धेरै पाउनुभएकै छैन ।‘अझ थोरै मात्र बाङ्गो काँक्रालाई व्यापारीले माइकल भन्दै फालिदिन्छन्,’ तिमल्सिना भन्नुहुन्छ, ‘राम्रो काँक्रा त पाँच रुपियाँमा भए पनि बिक्छ । अलिकति बाङ्ग्रो काँक्रो त पशुलाई आहार खुवाउने बाध्यता छ ।’तरकारी उत्पादनको राजधानी मानिने पाँचखालका किसानकाे यस्तै समस्या छ । लामो समयदेखि प्राध्यापन पेसामा आबद्ध पाँचखालका जगन्नाथ अधिकारी पछिल्लो समय किसान निक्कै समस्यामा परेका बताउनुहुन्छ ।

नेपालभरिका किसान बिचौलियाको सिकारमा परेको अधिकारीको बुझाइ छ ।उहाँ बिचौलियाले किसानसँग चार सय रुपियाँ प्रतिक्रेटका दरले किनेको गोलभेँडा उपभोक्तासम्म पुग्दा २२ सय रुपियाँसम्म पर्ने बताउनुहुन्छ ।मोफसलबाट चार सय रुपियाँमा लगेको एक क्रेट गोलभेँडा काठमाडाैँ पु¥याएर थोक बिक्रेतालाई आठ सय रुपियाँ प्रतिक्रेटमा बेच्छन् । थोक बिक्रेताले खुद्रा तरकारी पसलेलाई एक हजार दुई सय प्रतिक्रेटमा बेच्दछन् । अनि उपभोक्तालाई आधा केजी र एक केजी गरेर खुद्रा पसलेले एक क्रेटबाट एक हजार छ सयदेखि दुई हजारमा सम्ममा बिक्री गर्छन् ।

यसरी हेर्दा किसानले २० रुपियाँ प्रतिकिलो पाउँछन् ।उपभोक्तासम्म पुग्दा प्रतिकिलो ६० रुपियाँदेखि १०० सम्म तिर्नुपर्ने हुन जान्छ । प्रतिकिलो उपभोक्ता मूल्य ६० रुपियाँ नै भए पनि के बुझिन्छ भने, न त उत्पादन गर्नेले उचित मूल्य पाउँछन्, न त उपभोक्ताले सुपथ मूल्य । ‘बेलगाम बिचौलियाहरूले बिचमा बसेर उपभोक्ता शोषण गरी अनपेक्षित नाफा खाइरहेका हुन्छन्, अनि महङ्गो भइहाल्छ नि ! यसतर्फ कसले सोच्ने ?’ उहाँले तरकारी खेतीमा भएको बिचौलियाको कारणले पाएको समस्या बारेमा दुखेसो पोख्नुभयो ।तरकारीको राम्रो भाउ पाउने आशामा तरकारी खेती गरेका काठमाडौँ आसपासका किसानहरू समस्यामा परेका छन् ।

भक्तपुरको सूर्यविनायकमा जग्गा भाडामा लिएर तरकारी खेती गरेका विकास खत्रीको टनेलबाट गोलभेँडा निस्कन थाल्यो । तर उनलाई यतिबेला बजारको निक्कै समस्या पर्न थालेको छ ।लकडाउनको समयमा काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर क्षेत्रमा तरकारी खेती गरेका किसान समस्यामा परेका छन् । राम्रो बजार पाउने आशामा दोलखाबाट काभ्रेको धुलिखेलमा तरकारी खेती गरिरहेका रेशम बस्नेत यो वर्ष गरेको पाँच लाखभन्दा धेरै लगानी खेर जान लागेको सुनाउनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

तरकारीको राजधानी मानिने काभ्रेको पाँचखालसँगै मण्डन देउपुर, पनौती, धुलिखेल, बनेपा, बेथानचोक र रोशीका कृषकले मल, बीउमा गरेको लगानी खेर जान लागेपछि यतिबेला चिन्तामा परेका छन् ।अघिल्लो वर्ष एक क्रेट गोलभेँडाको दुई हजार रुपियाँसम्म पाएका काभ्रे पाँचखालका किसान यतिबेला एक क्रेट गोलभेँडाको तीन सय रुपियाँभन्दा धेरै पाउन सकेका छैनन् । ‘व्यापारीलाई पैसा नदिएपनि दिए पनि गोलभेडा लिएर जानुस् भन्नुपर्ने किसानहरूको समस्या छ ।’ रोशी गाउँपालिकाकी शान्ति लामाले भन्नुभयो ।धेरै किसानले यतिबेला सित्तैमा तरकारी पठाउन थालेका छन् ।

त्यसको पैसा कहिले आउँछ भन्ने बारेमा किसानले थाहा नै पाउन छाडेका छन् ।तरकारीको कारणले सङ्क्रमणकाे जोखिम बढेको भन्दै बनेपामा रहेका तरकारी बजारमा तरकारी किन्ने र बेच्ने क्रम रोकिएसँगै उपभोक्ताले तरकारी पाउन छाडेका छन् भने किसानले तरकारी बेच्न पाउन छाडेका छन् । यो तरकारी खेतीको मुख्य माैसम भए पनि तरकारी बिक्न छाडेपछि किसानले कसैले पनि किसानलाई ध्यान दिन नसकेको बताउन थालेका छन् ।स्थानीय सरकारले किसानको तरकारीको बजारीकरणमा ध्यान दिन नसकेको बताउन थालेका छन् ।

Leave A Reply

Your email address will not be published.