भागेर बाँचेका नवराजका साथी भन्छन्- ‘भेरीमा हाम फल्दा पनि छाडेनन्, नदीमै आएर हँसिया र चिरपटले हाने’
काठमाडाैं, १४ जेठ । भेरी नगरपालिका-४ रानागाउँका नवराज विक र उनका साथीहरू गत शनिबार नवराजकी प्रेमीकाकाे गाउँ रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ सोती पुगे । टोलीका एक सदस्य मदन शाहिका अनुसार उनीहरू साँझ साढे पाँच बजेतिर साेती पुगेका थिए ।
शाहिका अनुसार उनीहरू १९ जनाको टोली शनिबार दिउँसो १२ बजे रानागाउँबाट साेती हिडेका थिए । ‘घरबाट हामी १० जना हिडका थियाैँ, ढल्लालाई भन्ने ठाउँमा ९ जना नवराजले बोलएका थिए,’ शाहिले भने, ‘ढल्ला पुलबाट हामी करिब २ घण्टा उकालो हिडेपछि केटीको गाउँ पुगेका थियाैँ, केटीकाे गाउँ पुग्दा त्यस्तै साँझ साढे ५ बजे बजेका थियाे ।’
आफूहरूलाई देख्नसाथ नवराजकी प्रेमीकाकी आमा प्रकाशी मल्लले ठूल्ठूलो स्वरमा गाली गरेकाे उनले सुनाए । ‘नवराजकी प्रेमीकाकाे घर जाने बाटाेमा राेड रहेछ । हामी रोडबाटो हुँदै गयाैँ, हामीलाई देखेपछि केटीकी आमाले हामीलाई तँ ‘डुम’ फेरी किन आइस् ? तेरो जात के हो ? अस्तिको चोटले पुगेन ? फेरी यहाँ मार खान आइस् ? तँ ‘डुम’ आज जिउँदो फकिँदैनस् भन्दै कराउन थालिन्,’ उनले भने ।
केटीकी आमा कराउन थालेपछि नवराजलाई पनि ‘अब केटी लिन सकिँदैन, घर फर्किऔं’ भनेर मनाएर घर फर्किएकाे उनले बताए, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं, हामी केहि पनि नबाेली फर्कियाैँ,’ उनले भने, ‘ हामीले नाउला भन्ने ठाउँमा आएर पानी खायौँ, अलि तल एउटा ढुंगा थियो, पानी खाएर त्याे ढुंगामा पाँच मिनेट बस्यौँ । त्यहाँबाट पाँच मिनेट जति हिडेका थियाैँ, हामीमाथि एक्कसी ढुंगामुडा हुन थाल्यो ।’
उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई चारैतिरबाट घेरिसकेकाे रहेछ, जानेबाटाे कतै पनि थिएन, त्यहि एउटा भेरी मात्रै थियाे, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्, उनले भने ।
त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए । गाउँलले नवराजलाई मरणासन्न हुनेगरि कुटेर भेरीमा फालिएकाे समेत उनले सुनाए । ‘हामी सबैसँगै भागेका हाैँ, भाग्दा कोही अगाडि, काेही पछाडि भएका थियौँ, नवरालाई चाहिँ समातेर चल्न नसक्ने गरि कुटेर भेरिमा फालिदिए । हामीले पनि काटाई खाएका छौँ ।’
ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरेका टाेलीका अर्का सदस्य सुदिप खड्काले बताए । ‘ज्यान जोगाउन भेरीमा हाम फाल्दा पनि उनीहरूले छाडेनन्, नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरे, हामी १९ जनालालाई नै उनीहरूले कुटे, नवाराजसहित ६ जनालाई चाहि धरै नै कुटे,’ उनले भने ।
आफूहरू जानुभन्दा अगाडि नै उनीहरू सूचना पाएकाे र आयो भन्ने मारेर खोलामा फाल्ने भनेर योजना बनाएर बसेका खड्काले बताए । ‘हामी यहाँबाट जानुभन्दा अगाडि नै योजना बनाएर बसेका रहेछन् । हामी जाँदै गरेको छौँ भन्ने सूचना पाएर नै उनीहरुले योजना बनाएका थिए,’ उनले भने, ‘यहाँ हाम्रो गाउँमा पनि उनीहरुको आफन्तहरु छन्, उनीहरुले नै जानकारी दिएका हुन् ।’
खड्काले पनि चारैतिरबाट उनीहरूले घेरेकेा र मर्नकाे लागि भेरिकाे बाटाे मात्रै राखिदिएकाे बताए । ‘हामीलाई मर्नको लागि भनेर भेरीको मात्रै बाटो राखिदिएको थियो, चारैतिरदेखि हामीमाथि ढुंगामुडा गरिरहेका थिए, जाने बाटो कतै पनि थिएन, विकल्प भनेको भेरीमा हाम फाल्नु मात्रै थियो ।’ उनले भने, ‘६ जनालाई आधा मारेर भेरीमा फालेका हुन् ।’
भेरीमा बेपत्ता भएका ६ जनामध्ये ३ जनाको शव नदी किनारमा भेटिएको छ । भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । अन्य तीनजनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी जनाएकाे छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।
घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन
उक्त घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराउनुभयाे ।
गृहमन्त्री थापाकाे अनुसार गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ
उक्त घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् ।