हङकङ अब चीनको स्वायत्त क्षेत्र होइन : अमेरिकी विदेशमन्त्री

0

एजेन्सी, जेठ १५ । अमेरिकाले हङकङ अब चीनको विशेष अधिकार प्राप्त स्वायत्त क्षेत्र नरहेको जिकिर गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले हङकङमा अब चीनबाट प्राप्त उच्चस्तरको स्वायत्तता बाँकी नरहेको दाबी गरेका हुन् ।

हङकङले विशेषस्तरको स्वायत्तताको हैसियत गुमाएसँगै अमेरिकाको हङकङसँग रहेको विशेषस्तरको व्यापारिक सम्बन्धमामा नोक्सान पर्न सक्ने उनले कंग्रेसलाई जानकारी दिए ।

यसले एक अन्तर्राष्ट्रीय वित्तीय क्षेत्रका रुपमा कायमै रहिरहन पनि हङकङलाई खतरा आउनसक्ने उनले बताए । राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासन चीनमाथि गरिने कार्वाहीको स्वरुपबारे छलफल गरिरहेका बेला विदेशमन्त्री पोम्पियोले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको महामारीको सूचना समयमा नदिएको भन्दै चीनसँग रुष्ट ट्रम्प प्रशासन बेइजिङसँग व्यापार युद्धमै रहेको छ ।

चीनले लागू गरेको नयाँ नीतिका कारण अब हङकङकले अमेरिकासँग यसअघि जस्तै हैसियतमा व्यापारिक सम्बन्ध कायम गर्न नसक्ने जानकारी पनि उनले दिए । हङकङले चीनसँग उच्चस्तरको स्वायत्तता कायमै राख्न सक्छ भन्ने कसैले पनि दाबी गर्न नसक्ने उनले बताए ।

हङकङमा चीन विरोधी प्रदर्शन भइरहेको बेलामा अमेरिकी विदेशमन्त्रीको विवादास्पद टिप्पणी आएको हो । हाल हङकङको संसदमा चीनलाई बढी अधिकार दिने गरी दुई विधेयकहरु प्रस्तुत हुने चरणमा छन् । त्यसकैको विरोधमा चीन विरोधी प्रदर्शनकारीहरुले आन्दोलन गरिरहेका छन् ।

गत वर्ष पनि हङकङको संसदमा सुपुर्दगी विधेयकविरुद्ध आन्दोलन भएको थियो। त्यसक्रममा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुले महिनौंसम्म हङकङमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले चीनबाट स्वतन्त्रता माग गर्दै अमेरिकालाई हस्तक्षेप गर्न माग गर्दै आएका थिए । यता प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले ‘एक राष्ट्र, दुई नीति’ सिद्धान्तमाथि संकट उत्पन्न भए कडा कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ ।

Leave A Reply

Your email address will not be published.