नेपालमा एकैदिन थप तीन जनामा देखियो कोरोना भाइरसको संक्रमण

0

काठमाडाैँ, २२ चैत । नेपालमा एकै दिन काेराेना भाइरसका नयाँ तीन संक्रमित फेला परेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका नयाँ तीन जना संक्रमित युवा कैलाली र कञ्चनपुका पुरूष २ तथा महिला १ रहेका छन् । भारतकाे मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

यसैगरी कैलालीकी ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त) मा पनि काेराेना पाेजेटिभ भेटिएकाे छ । योसँगै पहिलोपटक नेपाल भित्रै कोरोना संक्रमण भएको पनि पुष्टि भएको हाे । यसअघिका केस इम्पाेर्टेड अर्थात् बाहिरबाट आउने मानिसमा मात्रै संक्रमण थियाे ।

कैलाली-कञ्चनपुरमा भेटिएका तीनैजना संक्रमितकाे धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको बताइएकाे छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयकाे आधिकारिक फेसबुकमा तीन जनामा काेराेना पाेजेटिभ देखिएकाे जनाइएकाे छ । यद्यपि सरकारको तर्फबाट थप जानकारी भने अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनबाट गरिने बताइएकाे छ ।

थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितकाे संख्या ९ पुगेकाे छ । यसअघि पहिलाेपटक चीनकाे वुहानबाट फर्किएका एक युवामा काेराेना पाेजिटिभ देखिएकाे थियाे, उनी निकाे भइसकेका हुन् । अन्य पाँच जना भने हाल आइसाेलेसनमा राखेर उपचार भइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.