नेपालमा नेपालीबाटै कोरोना सर्नु गम्भीर संकेत !

0

काठमाडौं । कैलालीकी एक महिलालाई कोरोना संक्रमण भयो । उनी विदेश गएकी थिइनन् । उनलाई देशभित्रै, गाउँघरमै कोरोना सर्यो । यसले के संकेत गर्छ ? प्रश्न उठेको छ । अहिलेसम्म नौ जनालाई कोरोना संक्रमण भएको छ ।नौमध्ये आठजना विदेशबाट फर्किएका थिए । उनीहरुलाई विदेशमै भाइरस सरेको थियो तर स्वदेश फर्किएपछि मात्र संक्रमण देखा पर्‍यो । तर, आज कैलालीमा जो महिलालाई संक्रमण देखियो, उनी विदेश गएकै थिइनन् । उनलाई विदेशबाट फर्किएका आफन्तबाट कोरोना सरेको प्रष्ट भएको छ ।

देशभित्रै कोरोना सरेको यो पहिलो घटना हो । यस अघि भेटिएका आठ जना संक्रमितबाट कसैलाई कोरोना सरेको अहिलेसम्म पाइएको छैन । देशभित्रै कोरोना सर्नुले विभिन्न कोणबाट सचेत हुन सबैलाई बाध्य पारेको छ ।कैलाली गर्मी जिल्ला हो । आज दिउँसो दुई बजे कैलालीको तापक्रम ३२ डिग्री सेल्सियस हो । यो भनेको निक्कै गर्मी हो । गर्मीमा कोरोना सर्दैन, लाग्दैन भन्ने अफवाह व्यापक छ । यो अफवाहको भर नपरेर जोगिने बेला आएको छ ।देशभित्रै कोरोना सर्नु निकै गम्भीर विषय हो । विदेशबाट आएका संक्रमितबाट अरुमा संक्रमण सर्नुले स्थिति चिन्ताजनक बनेको छ ।

तर, ती महिलामा कोबाट कोरोना सर्‍यो भन्ने पहिचान भएको छ । अर्थात्, संक्रमणको स्रोत थाहा छ । भारतले संक्रमणको स्रोत थाहा पाइन्जेल स्थितिलाई गम्भीर रुपमा लिएन । अहिले भारतमा तीन हजारभन्दा धेरै संक्रमित छन् । कोबाट कसमा सर्‍यो भन्ने थाहा हुन नसक्ने अवस्थालाई अहिले विश्वव्यापी रुपमा दोस्रो चरणको महामारी मान्ने गरिएको छ । तर, नेपालमा पाइएकी नवौं संक्रमितका आधारमा नेपाल दोस्रो चरणमा प्रवेश गर्‍यो भनिहाल्न मिल्दैन ।कोरोना महामारीमा एउटा चरण यस्तो आउनसक्छ जतिबेला कसलाई कोबाट संक्रमण सर्‍यो भन्ने पत्तो नै पाइँदैन ।

भारत हालै त्यस्तो चरणमा प्रवेश गरेको छ र त्यहाँ अवस्था चिन्ताजनक छ ।नेपालमा ‘कम्युनिटी लेभल’ मा कोरोना पुगेको त हो तर यसले महामारीको रुप लिइसकेको भने छैन । महामारीको रुप लिनु अघि नै अर्थात् कोबाट कसमा सरेको हो भन्ने थाहा पाउन नसकिने संख्यामा कोरोना फैलनु अघि नै सजगता अपनाउनुपर्ने भएको छ ।नवौं कोरोना पीडित महिलालाई हेरेर भन्न सकिन्छ– लकडाउनको पालना अब सबैका लागि जीवनमरणको सवाल बनेको छ ।

Leave A Reply

Your email address will not be published.