जस्तोसुकै अवस्थामा पनि चीन नेपालको साथमा छ, नेपालले सार्वजनिक गरेको नयाँ नक्सा नमान्ने भारतलाइ पनि दिइन दनक !

0

काठमाडौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ ।गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिनुभएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधँै सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भन्नुभएको छ, ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’’ नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ, यसमा सत्यता नभएको बताउँदै राजदूत होउले भन्नुभयो, ‘‘यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो ।’’

६५ वर्षको अवधिलाई पछाडि फर्केर हेर्दा हामी सधँै एउटै डुङ्गाका मित्रहरू हौँ र जब हामीले सङ्कटको सामना गर्नुपर्ने हुन्छ, त्यस्तो बेला सधैँ एकले अर्कोलाई सहयोग गर्दै आएका छौँ । सन् २००८ मा जब चीनको सिचुवानमा भूकम्पले नराम्रो धक्का दियो, नेपाल सरकार र नेपालीले हामीलाई सक्दो सहयोगको प्रयास गर्नुभयो । अनि सन् २०१५ मा जब नेपालमा विध्वंशकारी भूकम्प गयो, चीनले ठूलो मात्रामा उद्धार कार्यहरू गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माण कार्यमा पनि सहभागी बन्यो । हालसम्म चीनद्वारा सहयोग गरिएकामध्ये पहिलो चरण सकिएका १२ वटा परियोजनासहित, २५ वटा पुनःनिर्माण परियोजनाहरूमध्ये चक्रपथ सुधार परियोजना र दरबार हाइस्कुल पुनःनिर्माण परियोजना सम्पन्न भइसकेका छन् । अन्य परियोजनाहरूको काम पनि निरन्तर अघि बढिरहेको छ ।

म यही भन्न चाहन्छु कि ‘अकबरी सुनलाई कसी लगाउनुपर्दैन’ । परिवर्तित र पटक–पटकको परीक्षणबाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ । हामी विश्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी निश्चित रूपमा यो महामारीविरुद्धको सङ्घर्ष जित्नेछौँ । म त्यो सुनौलो दिनको प्रतीक्षामा छु ।

(गोरखापत्रका लागि सम्पादक सल्लाहकार गोपाल खनाल र प्रधानसम्पादक श्रीओम श्रेष्ठले गर्नुभएको संवादको सम्पादित अंश यहाँ राखेका छौ बाँकि पुरा अन्तर्वार्ता पढ्नको लागि गोरखापत्र अनलाइनमा जानुहोला)

Leave A Reply

Your email address will not be published.