स्कर्पियो दुर्घटना हुँदा आमा छोराको मृत्यु बाबु छोरी घाइते !

0

हेटौँडा – मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

त्यस्तै सैनामैना नगरपालिका– ८ कलौनीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुनुहुन्छ ।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ । ३ दिन अघि मात्र सवारी दुर्घटनामा परी रुपन्देहीमा एक कलाकार तथा पत्रकारको निधन भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.